शारीरिक भाषा नबोलीकन गरीने सवांद होे । व्यक्तिको विषयप्रतिको सहमति, असहमति, चाहना, भावना, संकोच, रिस, दया तथा माया प्रकट गर्नको लागि यसको प्रयोग हुन्छ । यस सम्बन्धि विज्ञहरु भन्दछ कि, &शारिरीक भाषा मानिसको अचेतन मष्तिकले संचालन गरेको हुन्छ ।” यदि विश्वास नलागे यसलाई आफै स्वयं बोलेर प्रयत्न गर्न सकिन्छ । शारिरीक भाषाले मानिसलाई निकै नै ठूूलो प्रभाव पार्दछ । यसलाई आफ्नो कार्यक्षेत्रमा मात्र नभई जुनसकै ठाउँमा जाँदा पनि महसुस गर्न सकिन्छ ।
मानिसहरुले जव बोल्छन् साच्चै के बोल्न खोजेको हो बोल्दैनन् तर उसको शरीरको हाउभाऊले, आखाँले, अनुहारले ऊसले नबोलेकोे सत्यतालाई अरु सामु बोलीरहेकोे हुन्छ । खासमा भन्ने हो भने फरक तरिकाले सत्यता बाहिर ल्याउन शरीरले ठूलो भूमिका खेल्दछ ।
एउटा मानिसले अर्को मानिसहरुलाई नजानेर नै पढिरहेको हुन्छ । जव कसैले भनेको कुरा उसको स्वयं शरीरसंग वाझिन्छ, हामीलाई त्यो व्यक्ति बेइमान लाग्न सक्दछ । त्यसको पछाडि विभिन्न कारणहरु रहेका छन । एउटा सामान्य तथ्यले भनेको छ कि मानिसले कुराकानी गर्दा ५५ प्रतिसत शरीरले कुराकानी गर्दछ, ३८ प्रतिसत दृष्यद्वारा कुराकानी हुन्छ र मात्र बाँकी ७ प्रतिसत बोलीद्वारा कुराकानी हुन्छ । त्यस्तै क्यालिफोर्निया विश्वविद्यालयको मनोविज्ञानका प्राध्यापक अल्वर्ट मेराबैनले पनि श्रोताको प्रतिक्रिया वक्ताले प्रयोग गरेको वास्तविक शब्दहरुमा जम्मा ७ प्रतिशत ध्यान हुन्छ, ३८ प्रतिशत आवाजमा ध्यान दिएको हुन्छ र ५५ प्रतिशत अनुहारको अभिव्यक्तिमा ध्यान दिएको हुन्छ भन्ने तथ्य पत्ता लगाएका छन् । यी अध्ययनहरुले शब्दको उच्चारण बिना पनि व्यक्ति के कस्तो छ, उसले कत्तिले सत्य वोलेको छ र व्यक्तिले के भन्न खोजेको छ भन्ने विषय उसको शारिरीक भाषाबाट प्रष्ट बुझन सकिन्छ भन्ने तथ्य पुष्टि गरेको पाइन्छ ।
यदि ९३ प्रतिसत संचार गैर मौखिक छ भने, हामीले यसलाई कसरी बुझ्ने र कसरी प्रयोजन गर्ने भन्ने बारे जान्न जरुरी हुन्छ । त्यसकारण यो लेखमा मानिसको मुख्य शरीरको खेलाडि भाग कुन हो, कार्यक्षेत्रमा त्यसको सहि तरीकाले प्रयोग कसरी गर्ने भन्ने बारे जानकारी दिन खोजेको छु ।
शारीरिक भाषा भनेको के हो ?
गैर मौखिक रुपमा शारीरिक व्यवहार, अभिव्यक्ति र शरीरको अगंहरुको प्रयोग गरेर सञ्चार गरिन्छ भने त्यसलाई शारीरिक भाषा भनिन्छ । प्रायः व्यक्तिले विभिन्न किसिमको हाउभाउ, संकेतद्वारा शारीरिक भाषा प्रयोग गर्दछ । उसलाई यसको बारेमा थाहा होस् वा नहोस्, जव अरु व्यक्तिसंग अन्तरक्रिया गर्दछ, निरन्तर शब्दवीहिन संकेतहरु दिइरहेको हुन्छ, र अर्को व्यक्तिद्वारा पनि सोहि प्रकृतिको प्रतिक्रिया प्राप्त गरीरहेको हुन्छ । यो प्राय निरन्तर भइरहन्छ, र भइनैरहन्छ, चाहे व्यक्ति चेतनयुक्त अवस्थामा होस् वा चेतनामुक्त अवस्थामा । अक्सफोर्ड डिक्सनरीले शारीरिक भाषालाई यसरी परिभााषा गरेको पाइन्छ – शारीरिक भाषा भनेको जानेर वा नजानेर केहि भावनाहरु वा बानिहरु कुनै किसिमको हाउभाउ वा संकेतद्वारा इसारा गरीन्छ, भने त्यसलाई शारीरिक भाषा भनिन्छ ।
शारीरिक भाषालाई कसरी पढने वा बुझ्ने ?
शारीरिक भाषालाई बुझ्न कठिन छ तर असम्भव छैन । उदाहरणको लागि मीम परफरमेन्समा कुनै शब्दको प्रयोग बिना कलाकारले के भन्न खोजेको हो भन्ने विषय उसको शरीरको भाषा चयनबाट प्रष्ट रुपमा बुझ्न सकिन्छ । जस्तै कलाकार मार्केल मारक्यु, जो बोल्न सक्दैनन र ऊ नबोलिकन नै प्रख्यात छन् । उसको शारीरिक भाषाबाट नै उसले भन्न खोजेको विषय छर्लङ्ग हुन्छ । यो उदाहरणले के बुझाउछ भने बोल्ने भाषा ठाउँ अनुरुप पृथक हुनसक्छ तर शारिरीक भाषा एकैखाले हुने हँुदा जुनसकै स्थानमा बुझ्नलाई सहज हुन्छ ।
शरीरको भाषा बुझ्नको निमित्त आफ्नो निकटमा वा सामुन्ने रहेको व्यक्तिको शरीरको हाउभाउ, शरीरको चालचलनलाई सुक्ष्म रुपले अध्ययन गर्न जरुरी हुन्छ । चाहे त्यो कार्यक्षेत्रमा होस् वा घर छिमेकमा । शारिरीक भाषाको ज्ञान भएमा कुनै पनि व्यक्तिको मुडलाई सहजै पढेर, व्यक्तिलाई चाडो भन्दा चाडो प्रभाव पार्न सकिन्छ । अझै भन्न पर्दा शरीरको भाषाको माध्यामबाट मानिसहरु बिच छिट्टै नै घनिष्टता बढने सम्भावना हुन्छ ।
शारीरिक भाषा अन्तर्गत के के विषयहरु पर्दछन् :
१. स्पर्शःस्पर्श आदिम र शक्तिशाली गैर मौखिक संचारको एक संकेत हो । स्पर्शको कारण मानव वन्धन सिर्जना हुन्छ । त्यसैले यसलाई संचारको रुपमा परिभाषित गरेको पाइन्छ । शारिरीक स्पर्शको कारण न्यानोपना उत्पन्न हुन्छ । स्पर्शले गर्दा व्यक्तिको उपस्थिति जनाउँछ, नयाँ व्यक्तिको बारेमा अन्वेषण गर्न मद्धत गर्दछ । त्यतिमात्र नभई व्यत्तिबीच भावनात्मक सम्बन्ध जडान गर्न मद्धत गर्दछ । हात मिलाउने, हात समाउने, चुम्वन (गाला, ओठ, हात), हाई फाइभ गर्ने, काधँमा प्याट्ट हिर्काएर छुने, जस्ता क्रियाकलापलाई स्पर्शको संकेतको रुपमा लिन सकिन्छ । यो धेरै प्रकारका हुन्छन्, जस्तैः फे्रन्डली स्पर्श, मायालु स्पर्श, आकम्मिक स्पर्श, हानिकारक स्पर्श, समस्या स्पर्श ।
व्यक्तिको स्पर्श गर्ने तरिकाले ऊ कस्तो छ भनी अडकल लगाउन सकिन्छ । ऊ कस्तो प्रवृतिको स्वभाव राख्दछ भन्ने कुरा छर्लङ्ग हुन्छ । कोहि व्यक्तिले पनि त्यस्तो स्पर्श रुचाउदैनन जुन स्पर्शले असहज, डर वा नर्भस महसुस गराउँदछ । यदि कसैले अनुपयुक्त ठाउँमा छुने, व्यक्तिको घनिष्ट क्षेत्रहरुमा छुने, पिडा हुने तरिकाले छुने, जस्ता स्पर्श गर्छन भने, त्यस व्यक्तिको सामु कोहि पनि बस्न रुचाउँदैनन् र त्यो व्यक्तिलाई जो कोहिले पनि असमान्य वा केहि विलक्षणको रुपमा लिन सक्छन् ।
स्पर्श कसरी गर्ने: स्पर्श गर्दा मायालु तरिकाले गर्नुपर्दछ । अगाँलो हाल्दा विपरीत ब्यक्तिले रुचाउने तरिकाले नरम अगाँलो हाल्दा सकारात्मक तथा घनिष्टता प्रकट हुने हुन्छ । आफ्नो उपस्थिति जनाउँनको लागि पछाडि आङ्गमा हल्का छुदा विपरीत व्यक्तिलाई सहज महसुस हुनसक्छ ,राम्रो स्पर्श गरेर हातका औलाहरु समाउदा भावनात्मक रुपमा आढ भरोसा दिलाएको महसुस गराउने हुुन्छ, दुःख पिडामा एकले अर्कालाई स्पर्श गर्दा बढी आढ भरोसा उत्पन्न हुने हुन्छ । कदाचित गोप्य अगंहरुमा स्पर्श गर्नु हुदैन चाहे त्यो व्यक्ति आफ्नो पारिवारिक होस् या सहकर्मी, त्यस्तो स्पर्शले सम्वन्धमा दरार पैदा भई व्यक्तिको वृद्धि र व्यक्तित्वलाई असर पार्ने तथा व्यक्तिको छविलाई नै धमिल्याइदिने सम्भावना हुन्छ ।
२. इशारा वा सङकेत: मुलतः कार्यक्षेत्रमा प्रयोग हुने एक महत्वपुर्ण शारीरिक भाषा इशारा वा सङकेत हो । इशारा हातको प्रयोग गरेर गरिन्छ । इशाराको माध्यमले व्यक्तिको भित्रि आशय बाहिर प्रकाश पार्न मद्धत गर्दछ । कुनै पनि स्थानमा बोल्दा वा अगाडि उभिदा हातलाई कसरी ब्यवस्थित गर्ने भन्ने निकै नै चिन्ताको विषय हुन्छ । हातको पोजिसनको कारणले को व्यक्तिले के सोच्दै छ भन्ने सहजै जानकारी राख्न सकिन्छ । जस्तै, कुनै व्यक्तिले हात बाँधेर बसेको छ भने विषयमा असहमति जनाएको छ भनि बुझ्न सकिन्छ । थप कुनै कुराबाट आफुलाई बचाउ गर्न खोजिरहेको छ र विषयमा अगाडि बढ्न चाहदैन भन्ने पनि बुझ्न सकिन्छ । हात कम्मरमा राख्दा व्यक्ति रिसाएको छ भन्ने बुझिन्छ । त्यस्तै पछाडि हात तानेर बटारेर बसेमा नकारात्मक संकेत गरेको बुझिन्छ । कुनै पनि व्यत्तिले लगातार औला पडकाएमा जलन र निराशा प्रकट गरेको बुझिन्छ ।
कसरी इशारा गर्ने: नकारात्मक सोच र गलत बुझाईलाई नियन्त्रण गर्नको लागि हातलाई ठिक स्थानमा राख्न जरुरी हुन्छ । आफ्नो हातलाई अगाडि काखमा राखेर विषयमा सहमत छु भनि संकेत गर्न सकिन्छ । हातको प्रयोग गर्दा एउटा असल शिक्षकले झै खुलेर प्रयोग गर्न सकेमा विषयलाई बढि भन्दा बढि प्रष्ट पार्न सहज हुन्छ । जस्तै हातको माध्यमले विभिन्न नम्वरहरु संकेत गरेर देखाउन सकिन्छ । हाउभाउद्वारा कुनै पनि वस्तुको आकार, लम्वाई, चौडाइको वर्णन गर्न सकिन्छ । त्यतिमात्र नभई दुःख सुखका विषय अभिव्यक्त गर्दा तालि पडकाएर, हात माथि उठाएर, हात हल्लाएर संकेत गर्न सकिन्छ । त्यस्तै केहि कुरामा सहमति जनाउन बुढि औला देखाउन सकिन्छ भने &भि” चोरी औला र माझि औलाको संकेत गरेर जितको खुशि प्रकट गर्न सकिन्छ ।
३. टाउको हल्लाउने: कोहि व्यक्तिले कसैको कुरा सुनिरहेको छ र बेलाबेलामा टाउको हल्लाउछ भने उसले कुरामा दिलचस्पी दिइरहेको छ भन्ने बुझिन्छ । कोहि व्यक्तिले टाउकोमा हात राखेको छ भने त्यस व्यक्तिलाई दिग्दार लागेको छ भनी बुझ्न सकिन्छ । त्यस्तै यदि कोहि व्यक्तिले आफ्नो हातले आफ्नो अनुहार छोपेर बसेकोे छ भने उसलाई केही दुःख भईरहेको छ अथवा ऊ कुनै कुरासंग असहज वा लज्जा वोध गर्दैछ भन्ने बुझ्न सकिन्छ ।
कुरा गर्ने बेलामा ठिक तरीकाले टाउकोलाई सिधा बनाएर आफ्नो वरिपरिको व्यक्तिलाई ध्यान दिदा व्यवहारिक देखिन्छ साथै वातचित गर्दा ऊ तर्फ नै टाउको मोडेर कुरा गर्न सकिन्छ । कोहि अरुले बोलिरहेको छ भने ठिक्क मात्रामा टाउको हल्लाएर सहमती वा विमती जनाउन सकिन्छ । कुनै पनि व्यक्तिको सामुन्ने बस्दा मुख छोपेर या टाउको समातेर बस्नुभन्दा आफ्नोे शिरलाई सिधा राखेर अगाडिको व्यक्तिलाई परस्पर ध्यान दिएमा अरुले हेर्ने नजरिया फरक किसिमको भई व्यक्तिलाई जागरुक देखाउन मद्धत गर्दछ ।
४. अनुहारको अभिव्यक्तिःहुनत हालसम्म अनुहारको अभिव्यक्तिको कुनै पनि विश्वब्यापी मानक छैन । तर पनि व्यक्तिको अनुहारको अभिव्यक्ति हेरेर उसको तात्पर्य के हो, उसले भन्न खोजेको के हो भनेर सहजै अडकल गर्न सकिन्छ । यसले व्यक्तिको भावनाको दायरा उद्धृण गर्दछ । विशेष गरी खुशी, रीस, दुःख, भ्रम, अवहेलना, डर, उत्साह जस्ता तत्वलाई बुझन सहयोग गर्दछ ।
कुनै पनि व्यक्तिको अनुहारको अभिव्यक्तिमा कमि हँुदा त्यस व्यक्तिलाई त्यो विषयमा कुनै दिलचष्पी छैन भन्ने बुझिन्छ । यदि कसैले कुनै पनि किसिमको अभिव्यक्ति गर्दैैन भने उसले केहि लुकाईरहेको छ भन्ने बुझिन्छ । यदि कसैले एकै ठाउँमा टोलाई हेरीरहेको छ भने उसकोे ध्यान अन्यन्त्र छ वा उसलाई त्यो विषयमा दिलचष्पी छैन भन्ने बुझिन्छ । अनुहारको अभिब्यक्तिमा विशेष गरी निम्न अगंहरुको प्रयोगलाई समावेश गरीएको पाइन्छ ।
क) आखाँकोे प्रयोग: भनिन्छ आखाँ भनेको आत्माको ढोका हो । यदि कसैले केहि विषयमा झुठ बोलिरहेको हुन्छ भने उसले कसैको आखाँमा पनि सिधा हेरेर वार्तालाप गर्न सक्दैन । आखाँको हेराईको कारण एकअर्काको बिचमा सम्वन्ध स्थापना हुन्छ । हेराईको कारणले आमनेसामुने बस्ने व्यक्तिले आफु कति महत्वपुर्ण छु भन्ने वारेमा महसुश गर्दछन् । कुराकानी गर्दा यदि तपाईको आखाँ पुरै खुलेको छ भने, मानिसहरुले आखाँलाई हेरेर तपाईलाई विश्वास गर्दछन् र तपाईको उद्देश्य हासिल गर्न मद्धत पुग्दछ । व्यक्तिको आखाँको संकेतबाट वार्तालाप समाप्त भयो भनेर बुझ्न सकिन्छ । त्यसैले परस्पर वार्तालाप गर्दा आखाँ जुधाउन जरुरी हुन्छ तर आखाँ तरेर जुधाउदा नकारात्मक बुझाई हुन सक्ने सम्भावना वढि हुन्छ ।
कसरी हेर्ने: यदि धेरै व्यक्तिहरु विषयलाई सुनिरहेको छन् भने उनीहरुलाई हेर्दा एक छेउवाट पालैपालो गरेर अर्को छेउसम्म हेर्नुपर्छ र करिव ९ देखि १० सेकेन्ड मात्र एउटा व्यक्तिलाई हेर्न सकिन्छ । जसको कारण एकले अर्कालाई सुन्ने र कदर गर्ने वातावरण सृजना हुन्छ । सुन्ने व्यक्तिले पनि सक्रिय रुपमा बोल्ने व्यक्तिलाई सुनिरहेको हुन्छ । यसरी आखाँको परस्पर हेराईले आफ्नो कार्य के कस्तो भइरहेको छ वा अगाडिको व्यक्तिले कुरालाई स्वीकार गरेको छ वा छैन भन्ने तुरुन्त पृष्ठपोषन पाउन सकिन्छ । यदि नराम्रो प्रतिकृया आएमा तुरुन्त आफ्नो त्रुटिलाई सच्याउने अवशर हुन्छ ।
ख) मुखको प्रयोग: मुखबाट व्यक्तिको खुशि, अनुमोदन, व्यंग्य वा निन्दनीयता देख्न सकिन्छ । मानिसको सकारात्मक तथा नकारात्मक विचारहरु उसको मुखको प्रयोग गर्र्ने तरिकाबाट पनि पत्ता लगाउन सकिन्छ । जस्तै, ओठ च्याप्प पारेर बन्द गर्दा विषयप्रति नकारात्मक वा अश्वादिलो भन्ने विचार प्रकट गरेको हुन्छ । त्यस्तै ओठ टोकेर बस्दा धेरै सोचमा मग्न भएको भन्ने बुझ्न सकिन्छ । तल्लो भागको ओठ टोकेमा असुरक्षित र चिन्तित व्यक्त गरेको बुझिन्छ ।
अर्कोतर्फ व्यक्तिले चर्को स्वरमा मुख खोलेर हाँसेमा अनुपयुक्त ठानी अपमानजनक असभ्य गिल्ला गरेकोे बुझिन्छ । त्यसरी हाँस्ने व्यक्तिलाई अविवेकीको संज्ञा दिएको पाइन्छ । चर्को हाँसोको विषयमा धर्मशास्त्रका एक प्राध्यापकले भनेका छन्, &चर्को हाँसो भनेको हल्का दिमाग हुनु हो र हल्का दिमाग भनेको गम्भीरतालाई लिनुपर्ने कुराहरुलाई गम्भीरतापुर्वक लिन असफल हुनु हो ।” हुनत प्रत्येक व्यक्तिको हाँसो फरक हुन्छ तर पनि सभ्य तरिकाले हाँस्ने कला जान्दा अझै फाईदाजनक हुन्छ ।
कसरी मुखको प्रयोग गर्ने: विशेष गरी कार्यक्षेत्रमा हाँस्ने भन्दा पनि मुस्कुराउनु भन्ने शब्द बढि प्रयोग भएको पाइन्छ । तीन प्रकारको मुस्कान कार्यक्षेत्रमा लागू हुन्छ । इनामको मुस्कान, सम्वद्धताको मुस्कान, र प्रभुत्वको मुस्कान । यी मुस्कान सहज ढंगबाट सरल तरिकाले ठिक्क मात्रामा दात हल्का देखाएर वा नदेखाएर मुस्काउनु हो । यसरी मुस्कराउँदा जुनसुकै व्यक्तिलाई पनि सहर्ष सकारात्मक तरिकाले स्वीकारेको पाइन्छ ।
५. हात मिलाउने: हात मिलाउँदाको स्पर्शले मानिस कुन मुडमा छ भन्ने प्रष्ट हुन्छ । तपाईले कसैलाई हात मिलाउन हात दिदै हुनुहुन्छ भने तपाईको त्यस व्यक्तिप्रतिको आदर र सम्मान त्यहिबाट झल्किन्छ । हात मिलाउदा तपाईको हातले अर्को व्यक्तिको हात पुरै समातेर मिलाएको हुनुपर्छ । जुन ठिक तरिकाले नगरी कडा तरिकाले स्पर्श गरेमा व्यक्तिको आदर सत्कार नभई, उसको रिस, इष्र्या वा अपमान झल्कन सक्दछ । चिकित्सा विज्ञानका अनुसार जव छालाले छालालाई स्पर्श गर्दछ मानिसको शरीरले अक्सिटोसिन हार्मोन उत्पादन गर्दछ । जुन हार्मोनले जडान गर्ने काम गर्दछ । मतलव व्यक्तिबिचको विश्वास र सम्वन्धको जडान गर्नको लागि मद्धत गर्दछ । त्यसकारण उचित तवरले हात मिलाउदा एक अर्काबिचको सम्वन्ध पनि परस्पर मिल्ने हुन्छ ।
कसरी हात मिलाउने: दाहिने हात सधै हात मिलाउन स्वतन्त्र बनाएर राख्नुपर्दछ । दाहिने हातले कुनै पनि पेय पदार्थ समाएर ब्यस्त नबनाउँदा उचित हुन्छ । हात मिलाउदा आँखा जुधाउन जरुरी छ । न्यानो आँखा जुधाएर थोरै मुस्कान दिँदा सकारात्मक प्रभाव बढछ । धेरै उत्सुकता नदेखाई टाउको सिधा राखेर दाँया खुट्टालाई अलिकति अगाडि सार्दा जो कोहीले पनि अड्कल लगाउन सक्दछ कि सामुन्ने आइरहेको व्यक्तिले म संग हात मिलाउन आउदैछ । आफ्नो औलाहरु ठाडो बनाई अगाडि बढाउनु पर्दछ । हात मिलाउदा बाँया हात खल्तीमा घुसार्न हुदैन । हत्केलाले हत्केला समाएर आफ्नो हातको कुमदेखि सम्पुर्ण मांसपेशिहरु बलियो महसुस हुनेगरी हात हल्लाएर मिलाउन पर्दछ ।
६. खुट्टाको पोजिसन: बसाईको माध्यमबाट व्यक्तिको रहनसहन, इच्छा, आकर्षण वा तपाईको वरिपरि रहेको रुचि प्रष्टाउँछ । निरुत्साहित खुट्टाले असहज र तनाव प्रष्टाउँछ । यदि कोहि मानिस एउटा खुट्टा माथि एउटा तल राखेर बसेको छ भने उसले चलिरहेको विषयलाई अस्विकार गरेको मानिन्छ र उसलाई थप समयको खाँचो छ भन्ने बुझिन्छ । कसैले दुईवटै खुट्टा खुल्ला पारेर भि आकार बनाई बसेमा सम्वन्धित विषयमा चासो छैन भन्ने बुझिन्छ ।
कसरी बस्ने: दुईवटै खुट्टालाई परस्पर भुइमा राखेर घुडाहरुलाई सही कोणमा झुकाएर मेरुदण्डलाई सिधा बनाई पछाडि कुर्सीमा आरामसंग टासेर नितम्बले कुर्सिको पछाडि भागलाई छोएर सोहि बमोजिम आफ्नो जाङलाई समानन्तर तरिकाले ९० डिग्रीमा राखेर बस्दा सहज र आरामदायी हुने हुन्छ ।
७. सिधा उभिने: सन २०११ मा अमेरीकाको मनोचिकित्सकहरुले सिधा शक्तिशाली रुपमा उभिनुले मानिसहरु अझै बलियो र ताकतदार देखिन्छन् भनेका थिए । उनीहरुको सिद्धान्तले के भन्दछ भने जति मानिस अरुको अगाडि झुक्छ र खुल्दछ त्यति नै मात्रामा उसको स्तर पनि झुक्ने र खुल्ने हुन्छ । त्यसकारण व्यक्तिले आफुलाई शक्तिशाली मानेर उभिएमा वास्तवमै आफुलाई शक्तिशाली पाउँदछ । आखिरमा शक्तिशाली बन्न को चाहदैनन् र ?
कसरी उभिने: काँधलाई सिधा राखेर छातिलाई चौडा पारेर आफ्नोे छाति बराबर मात्रामा सिधा पारी ठिक्क रुपमा तन्काएर हातलाई आफ्नो कम्मर भन्दा माथि चाहेको बेलामा सजिलै चलाउन सक्ने तरिकाले राखेर सामुन्नेको व्यक्तिहरुलाई जतिसक्दो नियाल्दै आफ्नो शरीरलाई त्यहि अनुरुपमा घुमाउदा परस्परमा रहेको व्यक्तिहरुले आफुले आफैलाई महत्वपुर्ण ठानेर विषयमा स्वयं केन्द्रित हुन सकभर प्रयत्न गर्दछन् ।
अधिवक्ता, मेलमिलापकर्ता र मध्यस्थकर्ताको लागि शन्देश:
विशेष गरी मानिसहरु कुनै पनि विषयवस्तुमा विमति भई, विमति भएको विषयलाई अन्तिम टुंगो लगाउँने भनि कानुनी उपचारको लागि मानसिक रुपमा एउटा निश्चित बक्र रेखाको घेराबन्दीमा बसेर छलफलको लागि तयार भई तपाईसंग आउदछन् । यसरी आएका व्यक्तिहरुलाई मेलमिलाप गराउनको लागि वार्तामा बस्दा, छलफलमा बस्दा, विषयमा प्रवेश गर्नुपूर्व नै तिनीहरुको आधारभुत शारीरिक भाषाका संकेतहरु जान्न आवश्यकता हुन्छ ।
१. मानिसको शरीरको भाषा पढेर प्रारम्भिक प्रभाव ३ देखि ८ मिनेटमा निर्धारण गर्न सकिन्छ । जस्तै, हामी कोहि व्यक्तिलाई पहिलो पटक भेटछौ, हामी एक प्रकारको प्रारम्भिक छाप तुरुन्तै बनाउँछौ र त्यसै छापको आधारमा उसको भावि छापहरु फिल्टर गर्ने प्रयास गर्दछौ ।
२. कुनै पनि व्यक्तिको मनोवैज्ञानिक आरामको भावनालाई बुझ्दै विषयमा प्रवेश गर्दा चाहे त्यो विवादित विषय होस् वा कुनै अरुनै विषय होस् निष्कर्षमा छिटो भन्दा छिटो पुग्न सकिन्छ ।
३. दिमाग र शरीरको घनिष्टता जरुरी हुन्छ, विषयलाई निखार्नको लागि तपाईले बोलेको भाषा र शरीरको भाषा एक आपसमा मेल खान जरुरी हुन्छ । तपाईले आफ्नै शरीरको भाषा बुझ्नाले आत्माजागरुकता, आत्म नियन्त्रण बढने हुन्छ, जुन भावनात्मक तथा बुद्धिमानी नेतृत्वको लागि आवश्यकता हुन्छ ।
४. तपाईले शारीरिक रुपमा आफूलाई प्रस्तुत गर्ने तरिकाले तपाईको कार्यक्षेत्रको वातावरण तयार हुन्छ । काम गर्दा वा नेटवर्क गर्दा तपाईको लगाउने तरिका, तपाईको बोल्ने शैली, तपाईको उर्जा शक्ति, तपाईको शिष्टाचारले प्रत्येक अन्तरक्रियालाई गाढा प्रभाव पार्ने हुन्छ । यदि प्रस्तुति गर्ने व्यक्तिको लगाई, बोलाई, हिडाई, चलाई, बसाई, खुवाई नकारात्मक र त्रुटिपुर्ण छ भने तपाईको ब्रान्डलाई तुरुन्त असर पर्न जान्छ । किनभने तपाईको भएको छवि र नैतिकतालाई शारीरिक भाषाले प्रक्षेपण गरीदिन्छ । सजिलैसंग शरीरको छविले तपाईको ब्रान्ड छविलाई शक्तिशाली रुपमा अरु सामु प्रष्टाईदिन्छ ।
५. तपाई आफ्नो शारीरिक भाषाको मात्र नभई तपाईले सेवाग्राहीको सांकेतिक भाषालाई पनि ध्यान राख्न जरुरी हुन्छ । कहिलेकाँही व्यक्तिले तपाईलाई आफ्नो सम्पुर्ण समस्या, विचार, भावना, उपाय भन्न दुरुत्सासन नगर्ने हुन्छन् । त्यस्तो समयमा शारीरिक भाषालाई नियाल्न जरुरी हुन्छ ।
निष्कर्ष
शरीरका संकेतहरुको वारेमा सचेत हुन सकेमा व्यक्ति स्वयंले आफ्नो क्षमता वृद्धि गर्न सक्छ । आफ्नै शारीरिक भाषा बुझ्दा व्यक्ति आफैमा कन्फिडेन्ट बढ्ने हुन्छ । आफुसंग सेवा लिन आउने व्यक्तिहरु मात्र नभई परिवार, साथीभाई, पक्ष, विपक्ष, निर्णायक, न्यायमुर्ति जो कोहिलाई पनि शारीरिक भाषाद्वारा सकारात्मक प्रभाव पारेर आफुले चाहे बमोजिमको प्रतिफल हासिल गर्न सकिने भएकोले शारिरीक भाषालाई बुझ्न अति नै जरुरी छ ।